लघुकथा: जनताको बिहान

देशको मुटु काठमाडौँ, आज केवल शहर थिएन, यो एउटा विशाल रगत-मांसको मुटु जस्तो धड्किरहेको थियो।
धड्कनको नाम थियो- 

‘जय अधिकार! जय विकास!’

यो नारा कुनै दलको थिएन । जनता आफैँबाट जन्मिएको, आँसु र पसिनाले सिञ्चित आवाज थियो। उनीहरूको आँखामा अब डर थिएन, केवल दृढता थियो ।

वर्षौँसम्म सत्तामा बस्नेहरूको कानमा यो आवाज बिजुलीझैँ लागिरहेको थियो। उनीहरूले देशको भविष्यको कुनै योजना कहिल्यै बनाएनन्। केवल अकुत सम्पत्ति आर्जन र दलाल पुँजीपतिको सेवा-पोषणमै आफ्नो समय गुजारे।

जनता त उनीहरूका लागि केवल भोट दिने ‘संख्या’ मात्र थिए। 

तर आज! 

आज जनता संख्या होइन- शक्ति बनेका थिए। 

सडकमा महिला, पुरुष, युवा, वृद्ध, मजदुर, किसान, विद्यार्थी- सब एकै पंक्तिमा उभिएका थिए। नेताको फोटो होइन, आफ्नो अधिकारको चेतना बोकेका थिए।

प्रहरीको पंक्ति पनि द्वन्द्वमा थियो। आदेश थियो- ‘भिड तितरबितर गर!’

तर एक जवानले सहकर्मीलाई भने, ‘यी त हाम्रो आमाबुबा हुन्, हामी कसरी लाठी चलाऔँ?’

अर्काले दृढ स्वरमा उत्तर दियो, ‘आज आदेश होइन, विवेक मान्छु।’

र, उनीहरूले जनताको बाटो खुला राखिदिए।

भिडको बीचमा केही अनुहार हिंसा भड्काउन खोजिरहेका थिए- भिजिलान्तेहरू, भेष बदलेर।
तर जनता अब अन्धो थिएन। 

‘यिनै हुन्, कारबाही गर!’, भिडले तत्क्षण घेराबन्दी गर्‍यो। 

कसैले भाग्ने मौका पाएन। 

त्यसैबीच, आन्दोलनको बीचमा एक वृद्ध महिला लडेर घाइते भइन्। केही युवाले तुरुन्तै काँधमा बोकेर स्वास्थ्य शिविरमा लगे। 

अस्पतालमा आदेश दिने कोही थिएन, तर उपचारमा ढिलाइ गर्ने कोही पनि थिएन- सबैले आफ्ना हात र हृदय खोलेका थिए।

भिडको एक कुनामा उभिएका स्वतन्त्र लेखक अरुण नोटबुकमा लेखिरहेका थिए, ‘यो केवल आन्दोलन होइन, यो शोषणमाथिको अन्तिम चोट हो।’

साँझ पर्दै गयो।

नारा बिस्तारै ओझेल पर्‍यो, तर सडकमा फ्याँकिएको एउटा पानामा ठूला अक्षरमा लेखिएको थियो- ‘यो अन्त्य होइन, यो शुरुवात हो।’ अरुणले त्यो पाना उठाए, आफ्नो नोटबुकमा राखे। अनि सोच्दै घरतर्फ लागे, ‘अब यो देश कहिल्यै पुरानै जस्तो हुने छैन।’

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these